काठमाडौं: उपराष्ट्रपतिको कार्यालय ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालय बुधबारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो ।
उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ । मन्त्रिपरिषदले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार सुरु गरिएको थियो ।
उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भई सके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले
उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबार मात्रै स्थानान्तरण भएको जनाइएको छ ।
हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ ।
उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो ।
उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो । अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ ।