काठमाडौँ: सरकारले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको र सात हजार घरमा क्षति पुगेको सरकारले जनाएको छ। मन्त्री बाँस्कोटाले बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले व्यहोर्ने जानकारी दिए।
पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ।
सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन पनि निर्देशन दिएको छ।