हेटौँडा : हिजो मङ्गलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने सडकखण्ड पूर्णरुपमा बन्द भएको हो ।
दुईदेखि तीन सय मिटरसम्म पहिरो गएकाले बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले जानकारी दिनुभएको छ ।
सडक अवरुद्ध भएसँगै छतिवन, फापरबारी, राइगाउँ जाने सवारीबीच बाटोमै रोकिएका छन् । पानी परिरहेकाले पहिरो खसिरहेको र पानी रोकिएपछि पहिरो हटाउने प्रहरी जनाएको छ ।
यस्तै हिजो मङ्गलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ को बानियाँटोल र शान्तिनगरका नौ घर डुबानमा परेका छन् । गोरदोई खोलामा आएको बाढी गाउँ प्रवेश गरेपछि हेटौँडा–५ का उक्त स्थानका करीब नौ घर डुबानमा परेका मकवानपुर प्रहरीले जनाएको छ ।
यसैगरी अविरल वर्षाका कारण हेटौँडाको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ । आज बिहान ६ बजेको समयमा हेटौँडा–१७, हटियामा रहेको शिवम् सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपी ५६ टि ४०३९ नम्बरको भारतीय ट्रक खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
यसैबीच वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ ।
विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ ।
मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ ।
वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताउनुभयो ।
वर्षाले फोक्सिङकोटको लाबेदेखि झोकेदी हँुदै सदरमुकाम तानसेन जाने सडक दुई सातादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुन पुगेपछि गाउँमा खाद्यान्न अभाव सिर्जना हुन थालेको छ ।