नगरकोट : सूर्योदयको दृश्यावलोकनका लागि नेपालमा मात्र नभई विश्वमै प्रसिद्धि कमाएको नगरकोटले प्रदुषित नगरको रुपमा स्थापित हुन थालेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमशृङ्खला, वरिपरि देखिने सुन्दर एवं हरिया डाँडा र उपत्यकाको सबैजसो भाग हेर्न पाउने नगरकोटको अर्को आकर्षण हो ।
यही आकर्षणले छ वर्षअघिसम्म नेपाल आउने प्रायः पर्यटक नगरकोट पुग्थे । तर छ वर्षअघि शुरु भएको कमलविनायक–तेलकोट–नगरकोट (१७ किमी) सडक बिस्तार, स्तरोन्नति र कालोपत्रको काम सम्पन्न नहुँदा पर्यटकिय क्षेत्र नगरकोटकै उपमा फेरिने चिन्तामा स्थानीय छन ।
तीन पटक म्याद थपिँदा पनि ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन नसक्दा धुलो र हिलोका कारण नगरकोटको आकर्षण घटने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।
चाँगुनारायण नगरपालिकाकै गौरवका रुपमा रहेको नगरकोटमा जीर्ण सडकका कारण पर्यटक आवागमन घट्न थालेको छ ।
नगरकोट जाने पर्यटक धुलिखेललगायत अन्यत्र जान थालेका छन् ।
यहाँको पर्यटन व्यवसाय धराशायी बन्न थालेको छ ।
सडकको दूरावस्थाका कारण पर्यटक धुलिखेलका साथै देशका अन्य भागमा जान थालेपछि नगरपालिकाले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा उजुरी ग¥यो ।
नगरपालिकाले उजुरी गरेपछि गत आइतबार समितिको टोलीले स्थलगतरुपमा नै यो सडकको अनुगमन गरेको थियो ।
अनुगमनपछि सभापति कल्याणीकुमारी खड्काले राजधानीमै रहेको देशको प्रमुख पर्यटकीय स्थलमध्ये पर्ने नगरकोट जाने सडकको यो अवस्था हुनुमा जिम्मेवार सबै निकायका अधिकारीलाई कारवाहीका लागि समितिले निर्णय गर्ने चेतावनी दिनुभयो ।
ठेक्का सम्झौता हुनेबित्तिकै २० प्रतिशत ‘मोबिलाइजेसन’ लिएर निर्माण व्यवसायीले अन्यत्र उपयोग गर्दा पनि समस्या आइपर्ने गरेको सभापति खड्काले सुनाउनुभयो ।
समितिले पूर्वतयारी नगरी ठेक्का नगर्न सरकारलाई निर्देशन दिइसकेकाले अब कारवाही गर्ने भएको छ ।
सडक आयोजनाको चौमासिक कार्ययोजना समितिमा पेश गर्न पनि नगरकोटमा भएको अन्तरक्रियापछि सभापति खड्काले निर्माण व्यवसायी र आयोजना कार्यालयलाई निर्देशन दिनुभयो ।
सांसद महेश बस्नेतले सन् २०२० को नेपाल भ्रमण वर्षअघि नै यो सडक निर्माण सम्पन्न नभए देशले घाटा व्यहोर्नुपर्ने बताउनुभयो ।
सडक बिग्रेका कारण नगरकोटले यसअघि दुई ठूला अवसर गुमाएको उहाँले बताउनु भयो ।
सांसद गणेश पहाडीले दुई वर्षमा सकिनुपर्ने सडक छ वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति हुनु लज्जास्पद भएको बताउनु भयो ।