काठमडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को तयारी भव्य हुने बताएका छन्। उनले २० हजार व्यवसायी टुँडिखेलमा उतारेर भ्रमण वर्षको शपथ खान तयार रहेको बताए।
‘भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ’, शुक्रबार राजानीमा अयोजित नेपाल भ्रमण वर्ष २०२० को लागि आवश्यक सुझाव कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘राज्य र निजी क्षेत्रको सहकार्यमा पूर्वाधार निर्माण गर्ने र पर्यटन वर्षलाई सफल पार्न सकिन्छ।’
यसका लागि सरकारी निकायले गर्नुपर्ने कामको वर्गीकरण गरेर जान सरकार तयार रहेको उनले जानकारी दिए। भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रसँग छलफल गर्न र अवाश्यक साथ र सहयोगको निम्ति सरकार साथै तयार रहेको पनि उनको भनाइ छ।
उनले भ्रमण वर्षको कार्यक्रम र योजनाका निम्ति पर्यटन व्यवसायीलाई तीन दिन भित्र आवश्यक सुझाव दिन पनि आग्रह गरे। अब सरकारले निजी व्यवासायी, कूटनीति नियोग, विदेशमा रहेका नेपाली सबैको सहयोगमा भ्रमण वर्ष सफल पार्ने काम गर्छ।
बाहिर रहेका ५० लाख नेपालीमार्फत एक जनाले एक व्यक्तिलाई नेपाल भ्रमण गर्न सुझाउने गरी योजना तय गर्न लागेको पनि मन्त्री भट्टराईले बताए। भ्रमण वर्ष सफल बनाउन नेपाल वायुसेवा निगमलाई थला पर्नबाट जोगाउने, देशका विभिन्न क्षेत्रका पर्यटन व्यवसायीसँग क्षेत्रगत छलफल गर्ने उनले बताए।