नेपालको शेयर बजार केहि बर्षदेखि निरन्तर ओरालो लागि रहेको अवस्थामा छ, ओरालेको क्रम रोकिएको छैन् र यस आर्थिक बर्ष शुरु भएको अन्तिम तेश्रो दिन पनि ५.३८ अंकले बजार ओरालो लागेको छ, तिन दिनमा १८.९७ अंकले घटेको देखिन्छ । गएको चैत्र महिनामा २, ४ दिन शेयर बजार उकालो लागेको देखिन्छ भने बाँकी अवधि औसत रुपमा घटेको छ । दुई बर्षअघि १,८०० अंक भन्दा माथि उचाईमा गईरहेको बजार आजको दिनसम्म आईपुग्दा १,२०० को हाराहारीमा आईपुगेको छ । सरसर्ती हेर्दा बिगत २ बर्षको अवधिबाट करिब ३४ प्रतिशतले बजार घट्न पुगेको छ । बजार घट्नु भनेको लगानीकर्ता नोक्सानमा पुग्नु हो र आर्थिक क्रियाकलापमा संकुचन आउनु पनि हो ।
बजार घट्नुको बारेमा बिगतको अवधिको अध्ययन एवं सरसर्ती समीक्षा वा विश्लेषण गर्ने हो भने गएको आर्थिक वर्षमा बैंकिङ्ग क्षेत्रमा तरलता अभाव चुलिएर उच्च ब्याजदर र लगानीमा संकुचनको प्रभाव प्रष्ट देखिन्छ । यस्तै ८ अर्बको पूंजी आपूर्तिले नियमित लगानीकर्ताहरुबाट बजारमा थप निवेश नहुनु पनि एक कारण रहेको छ । यसैगरी बैकिङ्ग मर्जरले गर्दा लगानीकर्ता नयाँ वासलात र लाभांश दरको पखाईमा बस्नु, नियमित लगानीकर्ताले सदैव उच्च प्रतिफलको मात्रै अपेक्षा राख्नु, साथै बजार ओरालो लागेपछि तत्कालै सुरक्षित अवतरणको पखाईमा रहनु, तथा नयाँ नयाँ शेयर लगानीको प्रवेश नहुुनु आदि प्रमुख कारण रहेको मानिन्छ ।
अरु थप कारणमा भर्खरै नयां संविधानबाट निर्वाचित बहुमतको सरकार र प्रदेश सरकारको गठन पश्चात सरकारको नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीतिले बजारको माग चाहनालाई सम्बोधन गर्न नसकेको गुनासाका प्रभाव पनि शेयर बजार ओरालोमा लागेको देखिन्छ । यस्तै सरकारी विकास खर्च समयमा नहुनु, साथसाथै मार्जिन कल वा लेन्डिङ, पुँजीगत लाभकर आदि कारक पनि संगसंगै रहेका छन । बजारको माग तथा चाहनालाई मौद्रिक नीति तथा नियमक निकायले संबोधन नगरेको भन्ने बजारको बुझाई रहेको छ ।
नेपालको बजार अन्तर्राष्ट्रिय शेयर बजारले निर्देशित गरेको छैन, सरोकार पनि राख्दैन । आन्तरिक कारणहरु नै प्रमुख छन् । सञ्चार माध्यम, राजनीतिक अवस्था र सरकारको विकास बजेट नै बजारका प्रमुख आधार र कारक देखिएका छन् ।
शेयर लगानी भनेको ब्यापारमा आफ्नो स्वामित्व दाबी हो । शेयर कारोबारमा खरिद, विक्री र थाँति राख्ने (Buy, Sell and Hold) चक्रमा आधारित हुन्छ । कुन बेला खरिद गर्ने, कुन बेला बिक्री गर्ने र कुन कुन बेला थाँती राख्ने भन्ने बारेमा बजारको माग र आपूर्ति अवस्थाले निर्धारण गर्छ ।
जोखिमको बिश्लेषण र यथोचित प्रतिफलको आधारमा बजार चालित हुन्छ । शेयर कारोबार बजारका सामान्य सिद्धान्त, प्रविधी, र तरलता -Fundamental, Technology & Liquidity) ले मार्गप्रशस्त गरेको हुन्छ साथै सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीति, नियामक निकायको प्रमुख भुमिका रहेको हुन्छ । लगानी गर्ने संस्थाको वार्षिक प्रतिवेदन, व्यालेन्स सिट आदिमा रहेका सकारात्मक सूचकांक र तथ्यहरुलाई विश्लेषण गरी आफनो प्राथमिकता निर्धारण गरी खरिद वा बिक्री गर्ने हुन्छ । तर नेपालमा सर्वसाधारण शेयरधनीहरु खासगरी साना र मध्यम लगानीकर्ताहरुले छिटो र बढि प्रतिफल पाईहाल्न पहिलो रोजाई ब्रोकरको राय र उनको भनाईलाई प्रमुख आधार बनाएको तथ्य देखिएको छ ।
दोश्रो, साथीभाईको लहलहै र सञ्चार जगतको प्रस्तुती अनि सूचना पनि हो । बजारमा कुन चाहिं Stock market segment ले राम्रो सफलता, निरन्तर प्रगति हासिल गरिरहेको छ, Trend sartorial performance को एउटा निश्चित अवधिमा भएको अवस्थालाई पूर्ण चित्रणलाई हेर्ने, विश्लेषण गर्ने चलन धेरै कम छ ।
ठूल्ठूला र ब्यवसायिक लगानीकर्ता, बजारका खेलाडीहरुले मात्र यस पक्षलाई पछ्याएको पाउँछौं । लगानीकर्ताहरुले एक दिनको, ६ दिनको(हप्ता), १ महिनाको, ३ महिनाको, ६ महिनाको, एक बर्षको र विगत बर्षहरुको विवरण हेरेर निर्णय गर्ने परिपाटी देखिन्दैन । यसमा सहज र भरपर्दो सूचकांक तथ्याङ्क सूचनामा पहुच नहुनु पनि एक पक्ष रहेको छ । लगानीकर्ताले विश्लेषण गरी लाभ र जोखिम आँकलन गरी सही निर्णय लिन नसकेको कारणले बजार अनियन्त्रित, असुरक्षित हुन पुगेको प्रायः देख्छौं । सरकारप्रति लगानीकर्ता सशंकित हुँदा साना तथा ठूला लगानीकर्ता बजारबाट बाहिरिएको राय बिश्लेषकहरुको छ ।
हामी कहाँ बढि आत्तिहाल्ने चलन छ, सूचना र सञ्चारजगत पनि हल्ला गर्नमा रमाउँछन । हल्ला हल्लाकै भरमा, लहलहैमा बजार बढि माथि र तल हुने गरेको छ । गलत सूचना सम्प्रेषण र अधैर्यताले पनि अप्रत्यासित उकालो लागेको अवस्थामा बढि लाभ प्रतिफल रातारात सजिलोसंग छिटो कमाउने (Immediate/short time return) हेतुले पनि कतिपय लगानीकर्ताहरु लगानी गरेपछि आफुलाई लामो समयसम्म टिकाउन (Hold) नसक्ने कारणले पनि तत्कालै घाटा ब्यहोर्न बाध्य भएका छन् । कतिपय कारणहरुमा बैंकको उच्च ब्याजदर र बजार मुल्य गिरावट दुवै संगसगैं परेको पनि हो । बजार बढदा र घटदा बजारलाई नियन्त्रण गर्न म्युचुअल फण्ड कम्पनीहरुको खासै प्रभावकारी भूमिका वा उनीहरुबाट बिशेष उपकरणहरुको प्रयोग भएको खासै देखिदैन् ।
बजार सन्तुलित नहुनुमा ब्रोकरको भनाई मात्र एक कारक हो भन्न मिल्दैन । प्रायः देखिने अर्को कारणहरुमा कहिलेकाहीँ सरकारको नेतृत्वमा रहेका व्यक्ति र नियामक निकायहरुबाट समय समयमा नीतिगत परिमार्जन वा हस्तक्षेप, उनीहरुको भाषण, प्रतिक्रियाले बजार प्रभावित भएको देखिन्छ । साथै बैंकिङ तरलता र औजार तथा उपकरणहरु पनि थप कारक तत्वहरु छन् । यस्तै आन्तरिक सामाजिक कारणले पनि बजार भरपर्दो देखिदैन, एउटा सानो उदाहरण लिने हो भने हाम्रो बजार ३ महिना अवधिमै साधारणसभाको पखाईमा बजार आफै नियन्त्रित हुनेगरेको छ (खरिद विक्रीमा नियन्त्रित), थप ३ महिना चाडपर्व (दशै तिहारको लागि पैसा जोहो गर्ने), लाभांश दिएको २ देखि ३ महिना मुल्य स्थिर वा केहि घटने स्वभाविक देखिन्छ । वास्तवमा भन्ने हो भने हाम्रो बजार नियन्त्रण र परिचालन केहि सिमित लगानीकर्ताको भरमा -(Market Players) बजार सञ्चालित छ, जुनकुरा शेयर संरचनाबाट पनि देख्न सकिन्छ । शेयर बजारलाई स्टक मार्केट र धितोपत्रले मार्गप्रशस्त (Guide) गरेको देखिन्न ।
देशको अर्थतन्त्र र पूँजी बजारको समग्र विकासको निमित्त बैंक तथा वित्तीय संस्थाहरुको साथसाथै ठुल्ठुला उद्योगहरुको अनिवार्य उपस्थिती हुनुपर्ने हो, तर सो करिब शुन्य छ, छ भने केवल बैँक तथा वित्तीय संस्था, फाइनान्स र विकास बैंक, बीमा कम्पनी, हाईड्रोपावर, केहि नगन्य होटल र केहि थोरै विविध कम्पनीहरु छन् ।
संविधान अनुसार संघीय र प्रदेश सरकारको संरचना र कारोबारको विस्तारको सूचना, तथ्याङ्कहरु पनि उत्तिक्कै आवश्यक पर्छ, बजार विस्तार र पहुँचको लागि । भर्खरै बजेट र मौद्रिक नीतिले शेयर धितो मूल्यको २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बन्देज गर्न छुट दिएको छ । बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने अनिवार्य नगद मौज्दात र वैधानिक तरलतामा कमी (४ प्रतिशत र १२ देखि ७ प्रतिशत) ले थप तरलता प्रवाहका साथै बैंकको आधारदरमा समेत कमी आउनाले ब्याजदरमा कमी आई शेयर कारोवारमा बजार स्थिरता ल्याउनमा मद्दत गर्नसक्छ, संभावना हुनसक्छ । यस्तै २५ प्रतिशतसम्म प्राथमिक पूंजीको परिवतत्य मुद्रामा विदेशी ऋणले पूर्वाधार परियोजनामा विदेशी लगानी भित्रिने संभावना हुन्छ र यसैगरी पूर्वाधार कोषले पनि शेयर बजारमा विस्तार (क्षेत्रगत लगानी वृद्धि) हुने सम्भावना देखिन्छ ।
बैंकिङ्ग सेवाको पहुँच थप सरल र सहजताको लागि आ.व. २०७५।७६ भित्र सबै बाणिज्य बंैकहरुले प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना, महानगरपालिका र उपमहानगरपालिकाका बाहेकका स्थानमा शाखा कार्यालय खोल्न राष्ट्र बैंकसंग स्वीकृती लिनुनपर्ने ब्यवस्थाले थप ११६ स्थानीय तहमा अनिवार्य रुपमा खोलिसक्ने ब्यवस्थाले अनिवार्य मौज्दात र वैधानिक तरलता अनुपात ब्यवस्थामा छुटले कर्जाको विस्तारको साथै शेयर बजार र कारोबारको विस्तार हुने सम्भावना स्वतः हुनजान्छ ।
यस्तै बाणिज्य बैंकहरुलाई धितोपत्र ब्यवसायीको रुपमा काम गर्नं सक्ने व्यवस्थाबाट बाणिज्य बैंकहरुले छुट्टै सहायक कम्पनी स्थापना गरी आफनो शाखा सञ्जालको फाईदा दिन, लिन सक्ने भएकोले पनि भविष्यमा कारोवार वृद्धिको सम्भावना प्रचुर देखिन्छ । यी संस्थाबाट अनलाइन कारोबारले बजारलाई सहज मात्र गर्दैन पारदर्शी र विश्वसनीयतामा समेत सहयोग गर्छ ।
वि.सं. २०४१ सालबाट नीजि क्षेत्रको सहभागितामा बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको लागि ३० प्रतिशत कारोवारको सुरुवात भएपछि नेपालमा सर्वसाधारणको शेयर बजारमा पहुँच र विस्तार हुने क्रम बढ्दै गयो । हाल नेपालमा ५९ वटा नेप्सेमा दर्ता भएका शेयर ब्रोकरहरु छन् भने यिनीहरुमध्ये १० वटाले मात्र काठमाण्डौं बाहिर आफना शाखा ब्यवस्थापन गरेका छन् । यसैगरी १७ वटा शेयर रजिष्ट्रार भई काम गर्दैछन् ।
सरकारको विकास बजेट खर्च समयमा हुँदा, नियामक निकायहरुको सरल र प्रभावकारी भूमिका, तरलता र सामान्य ब्याजको पहँुच, प्रविधीमैत्री कारोबार स्थानीय तहमा अनिवार्य रुपमा खोलिसक्ने बाणिज्य बैंकको शाखा र बाणिज्य बैंकहरु धितोपत्र ब्यवसायिक कार्यको थालनी विस्तार हुन जरुरी छ । समग्रमा बजार सबै क्षेत्रमा विस्तार हुन सकेको छैन ।
घरजग्गा कारोबार, औद्योगिक क्षेत्र, उर्जा, सूचना प्रविधि, स्वास्थ्य, उपयोग, उपभोक्ताको स्वनिर्णय, दुरसञ्चार र सेवा आदि क्षेत्रहरुमा समानुपातिक लगानीको अवसर सृजना गर्नुपर्छ, भारको मात्रा केहि कम बेस भएपनि अन्यत्र क्षेत्रमा लगानी विस्तार हुन जरुरी छ, यसले जोखिमको बितरण र प्रतिफललाई सुरक्षितका साथ थप लगानी विस्तारमा मद्दत गर्छ । शेयर बजारलाई वैकल्पिक लगानीको रुपमा हेर्ने प्रथाको अन्त्य गरिनु पर्छ ।
सरकारको नीति तथा कार्यक्रम, योजना र अवसरमा यो कार्य सम्भव हुन्छ । कारोबार भनेको नाफा घाटा हो, यसमा नाफा पनि हुन्छ, घाटा पनि हुन्छ । जहाँ नाफा हुन्छ त्यहां संगसंगै जोखिम पनि हुन्छ । यो नियमित प्रकृया हो, र लगानीकर्ताले बैंक ब्याजदर भन्दा सामान्य माथिको सुरिक्षत प्रतिफलको आशा, सकारात्मक साेंचको साथ सञ्चालित हुनुपर्छ । सर्वप्रथम बजारलाई स्थिर बनाउन जरुरी छ, पछिल्लो घटेको अंकको घाटालाई सन्तुलित गर्न जरुरी छ अर्थात पहिलो प्रयास भनेको उच्च अंक र न्यून अंकको औसतमा आउनु हो, अहिलेको १,२०० अंकको अवस्थालाई १,४०० सम्म पु–याएर बजारलाई स्थिर गर्नुपर्छ ।
“यसैगरी नेपालको शेयरबजार संस्थापक तथा सर्वसाधारण लगानीकर्ताको आवश्यक स्वामित्व अनुपात ७०ः३० लाई सर्वसाधारणको पहुँच पुग्ने गरी प्रायः सबै क्षेत्रमा ५१ः४९ औसत बनाउनु पर्छ । यसको लागि जनसहभागिता तथा शेयर आपूर्ती बढाउन संस्थापक तथा सर्वसाधारण लगानीकर्ताका आवश्यक स्वामित्व प्रतिशत हाल ७०ः३० रहेको संरचनालाई परिपार्जन गर्न पनि जरुरी छ ।”
यसैगरी नेपालको शेयरबजार संस्थापक तथा सर्वसाधारण लगानीकर्ताको आवश्यक स्वामित्व अनुपात ७०ः३० लाई सर्वसाधारणको पहुँच पुग्ने गरी प्रायः सबै क्षेत्रमा ५१ः४९ औसत बनाउनु पर्छ । यसको लागि जनसहभागिता तथा शेयर आपूर्ती बढाउन संस्थापक तथा सर्वसाधारण लगानीकर्ताका आवश्यक स्वामित्व प्रतिशत हाल ७०ः३० रहेको संरचनालाई परिपार्जन गर्न पनि जरुरी छ ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्र नभई अन्य क्षेत्र स्वास्थ्य, शिक्षा, हवाई यातायात, सञ्चार क्षेत्रको दायरालाई परिष्कृत गरी सन्तुलित भारको संरचना अनुपातमा सर्वसाधारणको पहुँच पुग्ने ब्यवस्था गर्दा राम्रो हुन्छ ।
उपाध्याय ,कृषि विकास बैंकका पूर्व निमित्त सीइओ हुन्