काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमको प्रक्राउलाई कांग्रेसविरुद्धको षडयन्त्र भनेका छन् ।
पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै देउवाले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए ।
कार्यक्रममा उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई राम्रो गरेर जनताको मन जित्न निर्देशन दिए । उनले भने, ‘कम्युनिस्ट र कांग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, कांग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिस्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए । उनले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए ।
उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याए ।
महामन्त्री डा शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।