काठमाडौँ: सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ ।
सरकारको उक्त निर्णयका विषयमा रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको बताए ।
उनले भने, ‘सरकारले गर्नु पर्ने काम धेरै छन् । तर सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो । यस्तो पूर्वाग्रही कदमप्रति काँग्रेसको विमति रहन्छ ।’
संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप छ ।
पार्टीका नेताहरुसँगको परामर्शपछि सरकारको उक्त निर्णयको विरुद्ध कसरी अगाडि बढ्ने भन्ने योजना तय गरिने उनले बताए ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।