काठमाडौं : भूमाफियाले खुल्लामञ्च अतिक्रमण गरेको पछिल्लो घटनापछि अकुपाइ टुँडिखेल अभियान थाल्ने तयारी भएको छ ।
आउँदो कात्तिक २३ गते शनिवार विश्व स्वतन्त्रता दिवसको दिनमा यस अभियानलाई मुर्तरुप दिने तयारी भएको हो ।
जनप्रतिनिधिकै संलग्नतामा टुँडिखेल लगातार साँघुरिँदै गइरहेको र अझैं साँघुरिने अवस्था रहेकाले ‘काठमाडौंको मुख्य क्षेत्र टुँडिखेल’ खुला गर्न र जनताको स्वामित्वमा ल्याउनका लागि दबाब दिने उद्धेश्यसहित स्वतन्त्र नागरिक अभियान सञ्चालन गर्न लागिएको हो।
अकुपाइ टुँडिखेलमा जनतादेखि जनप्रतिनिधिसम्म समर्थनमा उत्रने अभियानको अपेक्षा छ ।
त्यसकालागि अभियानले विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौंका संघीय र प्रदेश सांसद, जनप्रतिनिधिहरुलाई सहभागि हुन आह्वान गरेको छ ।
अभियानमा सहभागी हुन विद्यालय, कलेज, विभिन्न संघ संस्थाहरुलाई समेत आग्रह गरेको छ ।
साँस्कृतिक अभियानका रुपमा सञ्चालन गरिने अकुपाई टुँडिखेल अभियानमा बाजागाजासहित प्लेकार्ड लिएर चारैतिरबाट टुँडिखेल घेराउ गरिनेछ ।
अभियानको पहिलो शनिवार सबैभन्दा बढि अतिक्रमणमा परेको खुल्लामञ्चको पुरै क्षेत्रमा मानव साङलो लगाएर आधा घण्टासम्म घेरा लगाउने तयारी गरेको अभियानका संयोजक बिजय श्रेष्ठले बताए ।
‘टुँडिखेलबाट शुरु गरेर देशभरिका खुला स्थान जोगाउन दबाब दिने अभियान हो’ श्रेष्ठले भने ‘यो अभियानले सर्वसाधरणलाई खुल्ला ठाउँको महत्व बुझाउनेछ’ ।
‘यो कुनै राजनीतिक अभियान होइन र विरोध पनि हुँदैन’ उनले भने ‘यो त विशुद्ध नागरिक अभियान हो, यसले जनता र जनप्रतिनिधिलाई जानकार दिनेछ’ ।
टुँडिखेललाई दीर्घकालीन रुपमा नै खुल्ला गर्नुपर्ने बताउँदै उनले वेथिति गरी बनाइएका टहरा, पार्किङ, अस्थायी बसपार्क, सेनाको भवन सबै हटाउनुपर्ने बताए ।
अभियानले ३ महिनासम्म हरेक शनिवारका दिन निरन्तरता पाउनेछ ।
अभियानका संयोजक श्रेष्ठकाअनुसार अभियानका क्रममा चित्र र नाटक, साँस्कृतिक कार्यक्रम, फोटोप्रदर्शनी, खुलामञ्च सम्बन्धि विभिन्न कविता प्रवचन लगायतका कार्यक्रमहरुसमेत हुनेछन ।
पुरै टुँडिखेल खुल्ला गर्नुपर्छ भन्दै थालिएको अभियानले टुँडिखेलभित्र रहेको सेनाको भवन पनि सार्नुपर्ने दबाब दिने भएको छ ।