इटहरी: आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ।
सुनसरी प्रहरीको टोलीले गिरीलाई आज बिहान करिब ५ बजेतीर उनी उपचाररतः विराट नर्सिङहोम बाट पक्राउ गरेको हो।
उनलाई आजै अदालत लगेर अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारीमा प्रहरी रहेको छ।
जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो।
मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो। त्यो सुइँको पाएलगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो।
उनलाई छात्ती, मुटु, प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीको समस्या रहेको अस्पतालले बताउँदै आएको थियो। तर आइतबार बिहान एकाएक मुटु र छातीमा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरिएको अस्पतालको भनाइ छ। बलात्कारजस्तो गम्भीर मुद्दामा त्यसमाथि हाइ प्रोफाइलका मान्छे पक्राउ गर्दा सबै कानुनी प्रक्रिया पूरा गरेपछि मात्र पक्राउ गर्ने प्रहरीले योजना बनाएको थियो।