काठमाडौं : चावहिलमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएको २४ घण्टा वित्न नपाउँदै आज चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा गाडीको ठक्करबाटे एक जनाको ज्यान गएको छ ।
छोरालाई पछाडि बोकेर स्कुल पुर्याउन जाँदै गरेका पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको आज मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका थिए । मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ ।
सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।
स्थानिय र मृतकका केही आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाए सम्म शव नउठाउने र गल्ती गर्ने चालकलाई कारबाहीको माग गरेका छन् ।
घटनास्थलमा तनाव भएपछि अवस्थामा नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरको नेतृत्वको अर्को प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।