काठमाडौं : सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चबाट नेपथ्यले चर्चित रचनाकार शुक गुरुङको निधनप्रति श्रद्धान्जली अर्पण गरेको छ ।
‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै गायक अमृत गुरुङले शुक गुरुङको तस्वीरतर्फ फर्केर उनीसंगको सांगीतिक यात्रालाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।
अमृतले भने – ‘नेपथ्यले एउटा साथी गुमाएको छ, एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए, म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु, उनको आत्मालाई शान्ति मिलोस् ।’
चर्चित रचनाकार शुक गुरुङको आइतवार निधन भएको थियो । मिर्गौला रोगबाट ग्रसित शुकको निधनको खबरले आफू स्तब्ध भएको अमृत गुरुङले सामाजिक सञ्जालमा आइतवार नै लेखिसकेका थिए ।
‘शुक जीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले भने, ‘उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन् ।
अमृतले अगाडि थपे, ‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनुपर्छ, आउनुस् हाम्रा लागि र तपाइहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं ।’
मेलबर्नको प्रस्तुतिसँगै नेपथ्यको यस वर्षको अष्ट्रेलिया यात्रा सकिएको छ। ब्याण्डको यो पाँचौं अष्ट्रेलिया यात्रा हो । ब्याण्ड, व्यवस्थापन तथा प्राविधिकसहितको १२ सदस्यीय टोली मंगलबारै स्वदेश फर्कने कार्यक्रम छ ।