काठमाडौं :हिजो मंगलबार सरकारबाट छोडेको समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
आज बुधवार बस्ने दलको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भनेर औपचारिक निर्णय गर्ने छ ।
आफ्नो दल संविधान संशोधन गर्नका लागि सरकारमा गएपनि त्यो पूरा नभएका कारण सरकारबाट आफ्ना नेताहरु फिर्ता भएको र आज बस्ने बैठकले अन्य कुराहरुको निर्णय गर्ने समाजवादी दलका उपाध्यक्ष रकम चेम्जोङले बताए ।
केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले हिजो मंगलबार आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा समेत दिएका थिए ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा कानूनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको र यसअघि सरकारमा सहभागी हुने क्रममा गरिएको दुई बुँदे सहमति भंग भएको यादवले उल्लेख गरेका छन् ।
यसअघि मन्त्रिपरिषद् पुगर्नठन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानून मन्त्रालयमा सरुवा गरेका थिए । त्यसबेला नै प्रधानमन्त्रीले समाजवादी दललाई सरकारबाट हटाउन खोजेको कतिपयको आकलन थियो ।