काठमाडौँ: सिटिजन्स बैंकले साउन १५ गतेदेखि चार लाख ६३ हजार ८२६ कित्ता थप सार्वजनिक निष्कासन ( एफपीओ) विक्री खुला गरेको छ ।
जारी सूचना अनुसार बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री खुला गरेको हो । आवेदनको अन्तिम मिति साउन १८ गतेसम्म मात्रै राखिएको छ। तर आवश्यक एफपीओ विक्री हुन नसके बढीमा भदौ १४ गतेसम्म आवेदन खोल्ने बैंकले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो एफपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । एफपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो ।
बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१ः४९ कायम गर्न एफपीओ जारी गरेको हो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्सको एफपीओलाई ग्रेड थ्री प्लस रेटिङ दिएको छ । सिटिजन्सको एफपीओ बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।