काठमाडौं : साँखुस्थित माधव नारायण मेलामा उठ्ने दक्षिणावापतको रकमको लेखाजोखा अहिलेसम्म भएको छैन ।
शाली नदी अवधिभर यसअघिका वर्षहरुमा लाखौं तिर्थालु मेला भर्न आउने र तिनले माधव नारायणको मुर्ति दर्शनका बेला चढाउने दक्षिणा, दान लगायतका आर्थिक हिसाबकितावको अभिलेख अहिलेसम्म राखेको पाइदैन ।
गत साल तिर्थ भर्न आएका १६ लाख भक्तजनबाट दानपेटिका र त्यहाँको महादेव मन्दिरमा चढाइएको रकमका आधारमा एक महिनामा करीब एक करोड रुपैयाँ उठेको थियो । यो साल दान र चन्दाको रकममा पनि बढोत्तरी हुने अपेक्षा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितीको छ ।
मेलाको व्यवस्थापन हेर्दै आएको समितीले दानपेटिकामा उठेको रकम र चन्दाको मात्रै हिसाब राख्दै आएको छ ।
शाली नदीको मुख्य मन्दिर माधव नारायण दर्शन गर्ने भक्तजन तिर्थालुबाट चढाइने दक्षिणा लाखौंंमा हुने आँकलन श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितीका महासचिव एल.पि श्रेष्ठको छ । उनका अनुसार माधव नारायणको मन्दिरमा बस्ने सात जनाको माधवनारायण साँवामा त्यो दक्षिणाको रकम बराबरी हुनेगरी बाँडफाँड हँुदै आएको छ ।
यद्यपि मन्दिरमा चढाइने चाँदीका गरगहनाहरु भने समितिले नै आफ्नो जिम्मेवारीमा राख्दै आएको छ ।
साँवा पनि एक गुठीयार जस्तै इकाइ हो । यसले साँखुमा धेरै पर्वहरु सञ्चालन गर्ने गरेकाले परापूर्वकालदेखि नै त्यहाँ चढाइने दक्षिणा आपसमा बाँडफाँड गर्न दिइएको र त्यसको लेखाजोखा नराखिएको महासचिव श्रेष्ठले जानकारी दिए ।
मेला अवधिमा उठ्ने दक्षिणा रकमका सवालमा अहिलेसम्म कुनै पनि निकायले प्रश्न उठाएको छैन । तर त्यहाँका स्थानीयका अनुसार ती दक्षिणाबाटै पुजारीलाई तलब कट्टी हुने भएतापनि त्यसको आर्थिक हिसाबकिताव राखिनुपर्ने बताउँछन ।
शाली नदी अवस्थित शंखरापुर नगरपालिकाले समेत मेला र मेलामा हुने व्यवस्थापनमा आर्थिक सहयोग बाहेक अन्य पक्षमा कुनै पनि किसिमको हस्तक्षेप गरेको पाइँदैन । नगरपालिकाको तर्फबाट व्यवस्थापनमा खर्च वापतको रकम मेला सकिएपछि समितिलाई दिने गरेको नगरपालिकाका सूचना अधिकारी सन्तोष आचार्यले पहिलोक्लिकलाई जानकारी दिए ।
उनले मेलाको आर्थिक हिसाबकिताबमा अनभिज्ञता जनाएका छन ।
यसैबीच स्वस्थानी व्रत सुरु हुनै लाग्दा साँखुस्थित शाली नदीमा लाग्ने माधव नारायण मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
मेला आयोजनाका सम्बन्धमा आजै नगरपालिका कार्यालयमा समिती र त्यहाँको प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।
व्रतालुको सुरक्षा, मेला र तिर्थालुको व्यवस्थापनका लागि ८ वटा समिती बनाइएको महासचिव श्रेष्ठले जानकारी दिएका छन । ती समितिहरुले बजार अनुगमन, वर्तालु सुरक्षा, स्वयंसेवक व्यवस्थापन लगायतका कार्यहरु गर्नेछन ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत पौष २५ गते शक्रवारदेखि सुरु हुँदैछ ।
शालिनदीमा वर्षेनी एक महिनासम्म लाग्ने शालीनदी अर्थात माधव नारायण मेलालाई लक्षित लगभग सबै तयारी सकिएको जानकारी शाली नदीको भजन मण्डली सञ्चालन सिंहले दिए । उनले भने, ‘पहिलेको भन्दा यसपाली तयारी राम्रोसंग र छिटो भएको छ ।’
उनले भनेजस्तै मेला सुरु हुनु एकसाता अगाडिदेखि नै मन्दिर र मन्दिर परिसरमा रंग लगाईएको छ ।
फूलको गमलाहरु व्यवस्थित गरेर राखिएको छ ।
भने स्नान गर्न आउने भक्तजनहरुको सहजताका लागि प्लास्टर गरेर पक्कि बाँध बनाइ पोखरी बनाइएको छ । यसस्थानमा अघिल्ला वर्षहरुमा बोराहरुको बाध बनाइ स्नान गर्ने प्रयोजनका लागि अस्थाइ पोखरी बनाइँदै आइएको थियो ।
साथै मन्दिर जाने बाटोमा शंखको स्तम्भ सहित पार्कको निर्माण कार्य भइरहेको छ । तर यो निर्माण कार्य अर्को वर्षको माधव नाराणय मेला अगाडि सम्पन्न गर्ने लक्ष्य शंखरापुर नगरपालिकाको योजना छ ।
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले मेला अवधिभर यस वर्ष ३२ लाख तिर्थालु त्यहाँ आउने अनुमान गरेको छ । गत वर्ष भने १६ लाख भक्तजनहरुले मन्दिरको दर्शन गरेको तथ्यांक छ ।
पवित्र शालिनदीको पानीले नुहाएमा शरिरमा भएका विभिन्न रोहरु नष्ट भई रोग निको हुनुका साथै शारिरीक तथा मानसिकरुपमा तन्दरुस्त हुने जनविश्वास रहदै आएको शालिनदी भजन मण्डलीका विकेन्द्र मान सिंहले बताए । उनले थपे, ‘स्वस्थानी ब्रतको आफ्नै धार्मीक, ऐतिहासीक र पौराणीक महत्व रहेको छ ‘
स्वस्थानीको अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
स्वस्थानीलाई माधव नारायण पनि भन्ने गरिन्छ । बिष्णु अर्थात् नारायणको बाह्र महिना बाह्रै अवतार हुने र माघ महिनामा माधव नारायणको रुपहुने भएकोले पनि स्वस्थानिलाई माधव नारायण भनिएको हो । माधव नारायणको व्रत महिना भरिनै वस्ने र कठोर हुने गर्दछ ।
स्वस्थानी व्रत संगसंगै नेपालीहरुको घरघरमा स्वस्थानी वाचन गर्ने परम्परा समेत रहीआएकोछ ।
पौष शुक्ल पूर्णिमा देखि ब्रत शुरु हुने भएतापनि अघिल्लो दिनमै पुरुष ब्रतालुहरुले हात गोडाको नङ्ग काटी, कपाल खौरिएर , शुद्घ एकभक्त भई ज्र्योितलिङ्गेश्वर महादेवस्थानबाट जल र संकल्प सहित माधव नारायण राखेको पुजारी घरमा गई दर्शन गरी ब्रत बस्ने प्रतिज्ञा गर्नुपर्दछ ।
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन भगवान विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको उल्लेख छ ।