काठमाडौं : कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको यसै अवधिको तुलनामा झन्डै २३ प्रतिशतले धरै हो ।
अघिल्लो आर्थिक वर्षको यही बेला बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा एक अर्ब १४ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १ खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । बैंकको निक्षेप १५.५१ प्रतिशत र कर्जा लगानी ७.५ प्रतिशतका दरले बढेको छ । हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ ।
यस अवधिमा बैंकको खुद व्याज आम्दानी ३ अर्ब १७ करोड रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोहि आवधिको तुलनामा ९ प्रतिशतले कमि हो ।
बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड रुपैयाँ छ । खराब कर्जा ०.६ प्रतिशतले घटेर ३.९१ प्रतिशतमा पुगेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५१ पैसाले बढेर ३१ रुपैयाँ ४७ पैसा पुगेको छ । गत आवको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९६ पैसा थियो ।