काठमाडौँ: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विद्यार्थी र अस्थायी भिषामा रहेकाहरूप्रति लक्षित गर्दै गाह्रो छ भने आफ्नो देश फर्कन सक्ने सुझाव दिएका छन्।
कोरोनाभाइरसका कारण अष्ट्रेलियामा देखिएको आर्थिक संकट टार्न लागिपरेका प्रधानमन्त्री मोरिसनले पत्रकार सम्मेलनमा बोल्दै पढ्न आएकाहरूले पहिलो वर्षमै कठीन भयो भन्नु उचित नहुने बताए।
‘यो विषयमा अध्यागमनले हेर्ने भए पनि पढ्न आएको पहिलो वर्षमै कठीन भयो भन्नु उचित होइन,’ कोरोना भाइरसको पछिल्लो अवस्था र सरकारी प्रयासबारे आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘साँच्चै गाह्रो छ भने आ-आफ्नो देश फर्कन सक्नुहुनेछ।’
खासगरी विद्यार्थीलाई लक्षित गर्दै प्रधानमन्त्री मोरिसले उक्त अभिव्यक्ति दिएका छन्। विद्यार्थी भिषा आवेदन दिने क्रममा नै हरेक विद्यार्थीले पढाइको पहिलो वर्षभर पढ्न आर्थिक रूपमा सक्षम छु भनेर जिकीर गर्ने गरेको उल्लेख गर्दै उनले विद्यार्थीले सक्षमता प्रमाणित गर्नुपर्ने बेला आएको बताए। एजेन्सी