काठमाडौं: लकडाउनमा फसेका विदेशी यात्रुलाई घर फर्काउन आगामी शुक्रबार र शनिबार तीनवटा अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको छ।
तीन उडानमध्ये नेपाल वायुसेवा निगमले दुईवटा चार्टर उडान गर्ने भएको छ भने एउटा उडान बेलायतको टाइटान एयरलाइन्सले गर्न लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
नेपाल वायुसेवा निगमले जापानी नागरिकलाई स्वदेश फर्काउनका लागि अप्रिल १० तारिख अर्थात शुक्रबार चार्टर उडान गर्ने र शनिबार मेडिकल सामाग्री ल्याउनका लागि ग्वान्जाउ उडान गर्ने सहसचिव आचार्यले जानकारी दिए।
‘जापानी राजदुतावासको पहलमा निगमको चार्टर उडानमार्फत शुक्रबार काठमाडौं-नारिता उडानको तालिका रहेको छ। शनिबार निगमको जहाज मेडिकल किट्स ल्याउनका लागि ग्वान्जाउ उडान गर्नेछ।’ उनले भने।
बुधबार नेपाल आएर बेलायतका नागरिक लिएर उडान गरेको टाइटान एयरलाइन्स शुक्रबार फेरि आउने योजना रहेको उनले जानकारी दिए।