उर्लाबारी: मोरङको पथरीशनिश्चरे –६ पिप्लेको राधाकृष्ण कृषि समूहले उत्पादन गरेको ८ विगाहा जग्गाको गोलभेडा (टमाटर)बारी मै कुहिन थालेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीको घोषणा गरेपछि किसानको गोलभेडा,लौका,बैगुन लगायतका तरकारी बारी मै कुहिन थालेका हुन् । गत वर्ष राधाकृष्ण कृषि समूहमा आवद्ध १८ किसानले यो सिजनमा ५० लाख रुपियाँको तरकारी बिक्री गरेको समूहका सचिव रञ्जित महतोले बताउनु भयो । रञ्जितले मात्र यो वर्ष १५ कट्ठा जमीनमा टमाटर खेती गर्नु भएको छ । उहाँको बारीबाट हाल दैनिक ५ सय केजी टमाटर उत्पादन भइरहेको छ । तर, उत्पादन भएको टमाटर बजार पु¥याउँन नसक्दा रञ्जित यति बेला पुर्पुरोमा हात लगाएर बसिरहनु भएको छ ।
बजारमा ५० रुपियाँमा बिक्री भइरहेको टमाटर १५÷२० रुपियाँमा पनि बिक्री नभएको किसानहरूको भनाई छ । गाडी गुडेका छैनन् । साइकल र डोकामा बिक्री गरेर सकिदैन् । उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् भने , किसान लाखौं रुपियाँको कृषि उत्पादन कुहिएर सकिएला भनेर चिन्ता ब्यक्त गरिरहेका छन् ।
मध्य मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं. ५ र ६ लाई तरकारी र खाद्यान्न उत्पादन क्षेत्रका रुपमा घोषणा गरेको छ । घोषणासँगै नगरले किसानलाई , मल , बीउ, टनेल,बिषादी र परामर्स समेत दिँदै आएको वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङले बताउनु भयो । तामाङले वडा नं. ६ मा मात्र झण्डै ७० विगाहा जमीनमा ब्यावसायिक तरकारी खेती भइरहेको बताउनु भयो ।
रञ्जितले गत वर्ष फागुन–बैशाखको अवधिमा टमाटर बिक्रीबाट ६ लाख रुपियाँ आम्दानी लिनुभयो । गत वर्ष राम्रो आर्थिक लाभ लिएपछि यो वर्ष उहाँले खेतीको क्षेत्रफल पनि बढाउनु भयो । यो वर्ष यो अवधिमा १३ लाख रुपियाँको टमाटर बिक्री गर्ने महतोको योजना थियो । तर, बारी मै टमाटर कुहिएपछि उहाँको टमाटर बिक्री गर्ने सपना पानीको फोका झैं फुटेको छ ।
रञ्जितका छिमेकी सत्यनारायण महतोले ६ कट्ठामा टमाटर खेती गर्नु भएको छ । १ लाख ७५ हजार रुपियाँ लगानी गर्नु भएका ५८ वर्षीय महतोले यो वर्ष ५ लाख रुपियाँको टमाटर बिक्री गर्ने योजना बनाउनु भएको थियो । ३० वर्ष देखि तरकारी खेती गर्दै आउनु भएका महतो अर्काको खेती ठेक्कामा लिएर तरकारी खेती गर्नुहुन्छ । उहाँले भन्नुभयो –वार्षिक ५० मन धान ठेक्का तिर्नुपर्छ । अब कसरी ठेक्का तिर्ने ? उहाँले दुखेसो गर्नुभयो ।