काठमाडौँ: जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना भाइरसको संक्रमणका कारण देशमा जारी लकडाउनलाई विस्तारै खुकुलो पार्ने योजनाहरुको घोषणा गरेकी छन्।
योजना अनुसार सामाजिक दुरीको नियम मे ३ सम्म कायमै रहनेछ भने मर्केलले नागरिकहरूलाई पसल तथा सार्वजनिक यातायातमा रहँदाका बखत मास्क प्रयोग गर्न सुझाव दिएकी छन्।
अर्को सातासम्म निश्चित आकारसम्मका पसललाई खोल्न दिने उनले बताएकी छन् भने स्कूलहरू मे ४ बाट विस्तारै खोलिनेछ।
मर्केलले कडा उपायहरूले गर्दा देशले संक्रमणको रोकथाममा थोरै भने पनि प्रारम्भिक सफलता हात पारेको बताएकी छन्।
उनले ध्यान केन्द्रित गर्दै देश अगाडि बढिरहनुपर्ने बताइन्। उनले कोरोनाविरूद्ध लड्न आफूहरूसँग लड्न ठूलो ठाउँ नभएको जनाएकी छन्।
यसैगरी ठूला जमघटहरूलाई अगस्ट ३१ सम्म बन्द गरिएको छ भने बार, क्याफे, रेस्टुरेन्ट, सिनेमा तथा सांगीतिक ठाउँहरू पनि बन्द रहनेछन्।
जर्मनीको रोबर्ट कक इन्सिट्यूटले जर्मनीमा कोरोना भाइरसबाट १ लाख २७ हजार ५ सय ८४ जना संक्रमित भएको र ३ हजार २ सय ५४ जनाको ज्यान गएको जनाएको छ। एजेन्सी