भैरहवा: भैरहवा भन्सार नाकाबाट एक महिनामा २१ हजार तीन सय १० मेट्रिक टन तरकारी तथा फलफूल आयात भएको छ । ७२ करोड बढी मूल्यबराबरको उक्त परिमाणको तरकारी तथा फलफूल आयात भएको भन्सारको तथ्यांक छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाल र भारत दुवै देशमा लकडाउन भएपनि चैत महिनामा भारतबाट उक्त मूल्य बराबरको तरकारी तथा फलफुल आयात भएको हो ।
भैरहवा भन्सार कार्यालयका अनुसार आलु, प्याज, हरियो तरकारी र विभिन्न फलफूलहरु निर्वाध आयात भइरहेको छ ।
भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी पुर्ण प्रसाद लम्सालले चैत महिनामा २१ हजार तीन सय १० मेट्रिक टन हरियो तरकारी, आलु प्याज र विभिन्न फलफूल आयात भएको जानकारी दिनुभयो । यी वस्तुको आयातबाट भन्सारले दुई करोड १३ लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
भन्सारको तथ्यांक अनुसार चैत महिनामा सबैभन्दा बढी प्याज आयात भएको छ । एक महिनामा २५ करोड ९० लाख १२ हजार रुपैयाँ बराबरको छ हजार नौ सय ८६ मेट्रिक टन प्याज आयात भएको सूचना अधिकारी लम्सालले बताउनुभयो ।
प्याजपछि सबैभन्दा बढी आलुको आयात भएको छ । भन्सार कार्यालयका अनुसार नौ करोड सात लाख २० हजार रुपैयाँ बराबरको ३५ सय ५९ मेट्रिक टन आलु आयात भएको छ । त्यसैगरी १० करोड १२ लाख ९० हजार रुपैयाँ बराबरको ३३ सय २१ मेट्रिक टन काँचो केरा पनि चैत महिनामा भैरहवा नाका हुँदै आयात भएको छ ।
त्यसैगरी ३१ लाख ४२ हजार मूल्य बराबरको दुई सय ८९ टन हरियो तरकारी आयात भएको छ । कार्यालयका अनुसार अनार, कटहर, ज्याक फु्रटहरु एक करोड ४६ लाख रुपियाँको, स्याउ ७३ लाख ४१ हजार रुपियाँको, मेवा दुई करोड १२ लाख ६१ हजार रुपियाँको, खरबुजा दुई करोड १४ लाखको, कागती दाना तीन करोड ७७ लाख ७९ हजारको, सुन्तला सात करोड २१ लाख ४७ हजारको, आँप चार लाख ५७ हजार रुपैयाँ बराबरको आयात भएको कार्यालयले जनाएको छ ।
लकडाउनको समय भए पनि उपभोग पहिलेकै अवस्थामा भएकाले दैनिक उपभोग्य वस्तुहरु आलु, प्याज, तरकारी फलफूलको आयात नियमित भइरहेको छ ।