काठमाडौं : लकडाउनको महिना चैतमा बाणिज्य बैंकहरुमा ४९ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ ।
बन्दाबन्दीले सम्पूर्ण क्षेत्र प्रभावित बनेको र आर्थिक गतिविधि ठप्प हुँदा समेत बैंकमा पैसा राख्नेको कमी देखिएको छैन । सम्पूर्ण क्षेत्र प्रभावित हुँदा बैंकको व्यवसायलाई खासै असर नगरेको बैंकमा जम्मा भएको निक्षेप र प्रवाह भएको ऋणले देखाएको छ ।
चालु आर्थिक वर्षको (२०७६—२०७७) नौ महिना (चैतसम्म) सम्ममा बाणिज्य बैंकहरुमा ३१ खर्ब ८९ अर्ब निक्षेप पुगेको छ । फागुन सम्ममा यस्तो निक्षेप ३१ खर्ब ४० अर्ब रुपैयाँ थियो । फागुनमा मात्रै ७४ अर्ब निक्षेप संकलन भएको तथ्यांकले देखाउँछ ।
यता चैत मसान्तसम्ममा २८ खर्ब १० अर्ब ऋण प्रवाह भइसकेको छ । चैतमा मात्रै ४२ अर्ब ऋण प्रवाह भएको छ । यस्तो ऋण फागुनमा ५३ अर्ब प्रवाह भएको छ ।
व्यक्तिगत र संस्थागत दुबै खालको निक्षेप आएको नबिल बैंकका सिइओ अनिल केसरी शाहले बताए । लकडाउनले सम्पूर्ण बजार बन्द हुँदा मानिसहरुको खर्च गर्ने ठाउँ नभएकाले आफ्नो आम्दानीलाई बैंकमा बचत गरेको उनले बताए । उनी भन्छन्, ‘आम्दानी हुनेहरुको खर्च गर्ने ठाउँ छैन् । बैंकमा बचत गर्दा केही पैसा ब्याज भएपनि आउने आम मानिसको सोच हुन्छ । अत्यावश्यक बाहेक मानिसले अहिले कुनै पनि कुरामा खर्च गर्न चाहँदैनन् यसकारण पनि निक्षेप संकलनमा असर नपरेको हो । ’
उसो त लकडाउनमा आयात निर्यात ठप्प भएपनि अत्यावश्यक सामानका लागि एलसी खोल्नेक्रम जारी रहेको उनी बताउँछन् । औषधि र खाद्यान्न आयात भइरहेको छ भने यसका लागि पनि एलसी खोल्न रोकिएको छैन ।