काठमाडौँ: लकडाउनपछि उड्डयन व्यवसाय फेरि संचालन गर्नका लागि आन्तरिक उडान गर्दै आएको निजी वायुसेवा कम्पनी बुद्ध एयरले पूर्व तयारीका लागि निर्देशिका बनाएको छ।
बुद्धले आन्तरिक उडान सुरु भए लगत्तै तत्कालका लागि जहाज भित्र दिइँदै आइएको शौचालय र क्याटरिङको सुविधा बन्द गर्ने प्रावधान बनाएको छ।
कम्पनीले यात्रुको सुरक्षालाई मध्य नजर गर्दै यात्रुलाई बुद्ध एयरको कार्यालय, कार्गो, टिकट काउन्टरका साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशिकामा उल्लेख गरेको छ।
कम्पनीले तयार पारेको निर्देशिकामा उल्लेख गरिए अनुसार यात्रुले उडानका लागि अपनाइने पहिलो प्रक्रिया अर्थात फ्लाइट चेक इन काउन्टरदेखि ब्यागेज बुझ्ने समयसम्म अनिवार्य मास्क लगाउनै पर्नेछ।
कम्पनीले बजारमा उपलब्धताको आधारमा उचित मूल्यमा विमानस्थलमै मास्क बिक्री गर्ने जनाएकको छ। चिसो भिजेको र च्यातिएको मास्क लगाएर उडानमा सहभागी हुने यात्रुलाई कम्पनीले उडानमा प्रतिबन्ध लगाउने प्रावधान बनाएको जनाएको छ। कम्पनीका अनुसार रुघा, खोकी, जिउ दुख्ने लगायत लक्षण देखिएका यात्रुलाई हवाई यात्रामा प्रतिवन्ध लगाइनेछ।
कम्पनीले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै चेक-इन काउन्टरमा विशेष स्कृनिङका आधारमा यात्रुलाई उडान गर्ने व्यवस्था मिलाइने जनाइएको छ। कम्पनीका अनुसार उडान सुचारु भएपछि तत्काल श्वासप्रश्वास रोगीहरुलाई उडान निषेध गरिनेछ। कोभिड-१९को लक्षण देखिएका यात्रुले अनिवार्य कम्पनीलाई पूर्व जानकारी दिन कम्पनीले निर्देशन दिएको छ।