काठमाडौं: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पहुँच मार्ग बनाउन ४ हजार २ सय ३२ वटा रुख काट्ने भएको छ।
निजगढ विमानस्थल निर्माणका लागि गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले रुख काट्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ। यो प्रस्ताव वन मन्त्रालयले लैजानेछ।
पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग, रुख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच भएको सम्झौंताको म्याद थपेर कार्य अगाडि बढाउन निर्देशन पनि दिएको छ।
यस कामका लागि २०७४ भदौ १९ गते प्राधिकरण र नेपाली सेनाबीच एमओयु भएको थियो। विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत संख्या निकाल्ने कामलाई तत्काल अघि बढाउन बैठकले निर्देशन दिएको छ।
विमानस्थल निर्माणको लागि लगानी बोर्डले निश्चित सयम सीमा तोकेर जुरिच इन्टरनेशनलसँग सार्वजनिक-निजी साझेदारी(पीपीपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्न बैठकले निर्देशन दिएको छ।
बैठकले प्राधिकरणलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रिया सक्ने समेत निर्देशन दिएको छ।