काठमाडौँ: कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ।
पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’
कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ।
यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ।
कुनै पनि भाइरसविरुद्ध खोप तयार पर्दा त्यसले भाइरस फैलिनबाट रोक्छ कि रोक्दैन भन्ने महत्वपूर्ण हुन्छ। यस आधारमा यो खोपको पहिलो मानवीय परीक्षणलाई सकारात्मक मानिएको छ।
कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ। दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ। त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ।
अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ।
यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने मोडर्नाका प्रमुख मेडिकल अधिकृत डा. ताल ज्याक्सले बताएका छन्। एजेन्सी