सर्लाही: सर्लाही सदरमुकाम मलङ्गवामा अलपत्र परेका भारतीय मजदुरहरुलाई घर पठाउन थालिएको छ ।
निरन्तरको बन्दाबन्दीले काम बन्द भएपछि जिल्लाका विभिन्न इँटा भट्टामा काम गर्ने सयौँ मजदुर घर जान भन्दै सोमवार राती नेपाल–भारत सीमास्थित मलङ्गवा–सोनवर्षा नाकामा पुगेका थिए । उनीहरुलाई भारतीय सुरक्षा बल (एसएसबी) ले घण्टौैँसम्म सीमामै रोकेर राखेका थिए ।
त्यसरी सीमामा अलपत्र परेका मजदुरहरुलाई भारतीय अधिकारीहरुसँग निरन्तर समन्वय गरेर एक पटकमा दुई सय जनाको दरले घर पठाउने सहमति भएको इँटा उद्योग सङ्घ सर्लाहीका अध्यक्ष समेत रहेका भएका जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले जानकारी दिए ।
उनका अनुसार सोही सहमति अनुसार मङ्गलवार राती दुई सय जनालाई भारतीय पक्षले व्यवस्था गरेको गाडीमा घर पठाइएको छ । सीमामा जम्मा भएका अन्यलाई भने क्रमैसँग पठाउने सहमतिमा उनीहरु कार्यरत इँटा भट्टामै फर्काइएको सभापति चौधरीले बताए ।
सर्लाहीमा ९० वटा इँटा भट्टा छन् । जसमा झण्डै सात हजारको हाराहारीमा मजदुर कार्यरत छन् । तीमध्ये धेरैजसो भारतकै रहेका चौधरीको भनाई छ ।
बन्दाबन्दी सुरु भएपछि केही मजदुर लुकिछिपी स्वदेश फर्किसकेका छन् । कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमण बढिरहेकै बेला भारतमा रेलसेवा सुरु भएपछि बन्दाबन्दीकै बीच भारतमा रहेका नेपाली यहाँ आउने र यहाँ रहेका भारतीयहरु स्वदेश फर्किने क्रम बढेको छ ।