काठमाडौं:कोरोना भाइरस रोकथामको कामका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २५० मिलियन अमेरकी डलर (करिब ३० अर्ब नेपाली रुपैयाँ) ऋण दिने भएको छ।
सहुलियतपूर्ण उक्त ऋणका लागि अर्थ मन्त्रालयमा सोमबार सम्झौता भएको हो। सम्झौतामा अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपाल निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गरेका हुन्। सम्झौता अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एडीबीले उपलब्ध गराउने ऋणको रकम सरकारले कोरोना रोकथाम र जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने भएको छ। उक्त रकम सरकारलाई सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका योजनाका लागि पनि सहयोगी हुने अर्थसचिव ढुंगानाले बताए।
महाव्याधिको रोकथाममा नेपाल सरकारले अघि सारेका योजनामा सहयोग जारी राख्ने एडीबीका नेपाल निर्देशक खामुदाख्नोभले प्रतिबद्धता जनाए ।
सहुलियतपूर्ण ऋण रकमलाई कोरोना परीक्षणका प्रयोगशाला, क्वारेन्टाइन व्यवस्थापन र उपचार सेवाको स्तरवृद्धिका लागि पनि खर्च गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।