काठमाडौँ: अमेरिकाले बुधबार चिनियाँ यात्रुवाहक विमानहरूलाई आफ्नो मुलुकमा उडान गर्न नदिने बताएको छ।
उसले जुन १६ देखि आफ्ना गन्तव्यहरूमा चिनियाँ विमानहरूलाई रोक लगाउने जनाएको हो।
आफ्ना विमानहरूलाई चिनियाँ गन्तव्यमा सेवा पुनः संचालन गर्न नदिएपछि अमेरिकाले यस्तो निर्णय गरेको बताएको छ।
गत महिना अमेरिकी पारवहन विभागले चिनियाँ उड्ययन विभागसमक्ष आफ्ना जहाजहरूलाई पुनः सेवा सुरू गर्ने अनुमति दिन आग्रह गरेको थियो।
तर चिनियाँ उड्डयन विभागले भने घरेलु तथा विदेशी कम्पनीहरूलाई त्यस्तो कुनै पनि अनुमति दिएको छैन।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अध्यागमन विभागलाई चीनबाट आउने गैर-अमेरिकी यात्रुहरूको अमेरिका प्रवेशमा रोक लगाउने आदेश दिएपछि अमेरिकी विमान कम्पनीले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै फेेेेब्रुअरीमा चीनबाट हुँदै आएको हवाई उडान बन्द गरेका थिए।
यद्यपी अमेरिका डेल्टा र युनाइटेड एयरलाइन्सले चीनमा हुने कार्गो उडान भने जारी राखेका थिए। उनीहरूले यसै महिनाबाट पुनः यात्रुसेवा सुरू गर्न चीनसँग अनुमति मागेका छन्।
अमेरिकी पारवहन विभागले लगाएको प्रतिबन्ध एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स, हेनान एयरलाइन्स र तीनका साझेदार कम्पनीमा लागु हुनेछ।