काठमाडौं: कोरोना भाइरसका कारण विश्वभर ९५ लाखभन्दा बढी संक्रमित भएका छन् । बिहीवार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २६ हजार ३ सय ८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २ लाख व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
कोरोना भाइरसका कारण हालसम्म ४ लाख ८४ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ५१ लाख ७४ हजार ६ सय ८६ निको भएर घर फर्किएका छन् ।
यो समाचार तयार पार्दासम्म ३८ लाख ६६ हजार १ सय ८६ जना कोरोना भाइरसका बिरामी छन् । तीमध्ये ५८ हजार ४ सय १८ जना सिकिस्त छन् ।
विश्वका २ सय १५ राष्ट्रमा कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो समय सयुंक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।
अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ लाख २४ हजार जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
अमेरिकापछि ब्राजिलमा संक्रमितको सङ्ख्या बढी छ । ब्राजिलमा ११ लाख ९२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । ज्यान गुमाउनेको संख्या ५३ हजार ८ सय ७४ पुगेको छ ।
यस्तै रसियामा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ लाख ६८ हजार निको भएर घर फर्किएका छन् भने ८ हजार ५ सयले ज्यान गुमाएका छन् ।
छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्यामा वृद्धि भएको छ । अमेरिका, ब्राजिल र रसियापछि सबैभन्दा बढी संक्रमित भेटिएको देशमा भारत पर्छ ।
भारतमा समाचार तयार पार्दासम्म ४ लाख ७२ हजार ९ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार बढीले ज्यान गुमाइसकेका छन् ।