काठमाडौं: विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोनाभाइरसको महामारीसँग लड्नका लागि ‘नेतृत्वको अभाव’ को आलोचना गर्दै वैश्विक एकताका लागि अपिल गरेका छन् । विनाशकारी भाइरस पहिचान भएको छ महिनाभन्दा बढी भइरसक्दा पनि पूरा विश्व यसलाई नियन्त्रण गर्न संघर्षरत छ भने दैनिकरुपमा संक्रमितको संख्या बढ्दो छ ।
‘साथीहरु, गल्ती नगर्नुहोला । आज हाम्रो सामु भाइरसमात्र सबैभन्दा ठूलो चुनौती होइन,’ टेड्रोस अधानोम घेब्रेसियसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो लागि चुनौती भनेको राष्ट्रिय र वैश्विक स्तरमा नेतृत्व र ऐक्यबद्धताको कमी हो ।’
डब्लूएचओ प्रमुखको यो अभिव्यक्तिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित रहेको धेरैको बुझाइ छ । आफ्नै देशमा विश्वकै खराब स्थितिमा रहेको कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न असफल रहेका ट्रम्पले डब्लूएचओविरुद्ध खुल्ला युद्ध सुरु गरेका छन् ।
‘यो त्रासदीले हामीलाई हाम्रा धेरै साथीहरुलाई गुमाउनु परिरहेको छ । विभाजित विश्वले यो महामारीलाई जित्न सक्दैन,’ भावुक बनेर बोली समेत लर्बरिएका टेड्रोसले भने ।
अमेरिकामा दैनिकरुपमा संक्रमितहरुको संख्यामा रेकर्ड वृद्धि भइरहेको छ । देशमा ३० लाखभन्दा बढी संक्रमित पुगिसकेका छन् । अन्य देशमा पनि उस्तै हालत रहेको देखिन्छ । ब्राजिलमा त राष्ट्रपति जायर बोल्सोनारो नै कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । उनले कोरोनाभाइरसलाई सामान्य फ्लुको संज्ञा दिन्थे । भारतमा पनि एक दिनमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि भएको छ भने मेक्सिकोमा भाइरसको संक्रमण बढ्दो छ ।
कोरोनाभाइरसलाई नियन्त्रण गर्न सफल भनेर वाहवाही कमाएको अस्ट्रेलियामा पनि मेलबर्नमा संक्रमण बढेपछि फेरि भिक्टोरियाका ६० लाख जनतालाई सिल गर्नुपरेको छ ।
‘कुनै भेदभाव बिना मानिसको ज्यान लिइरहेको एउटा साझा दुश्मनविरुद्ध एकताबद्ध भएर लड्न हामी मानिसहरुलाई किन गाह्रो भइरहेको छ ?,’ डब्लूएचओ प्रमुखले भने, ‘के हामीले हाम्रो साझा दुश्मनलाई चिन्न नसकेका हौँ ? हामीमा देखिने विभाजन भाइरसका लागि फाइदा हो भनेर किन बुझ्दैनौँ ?’
विश्वका शक्ति राष्ट्रहरुलाई एकताबद्ध हुन आह्वान गर्दै उनले भने, ‘कोभिड–१९ वैश्विक एकता र नेतृत्वको परीक्षा हो ।’