काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको देशभित्रैबाट चर्को आलोचना भएको छ ।
ओलीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्ज पश्चिममा पर्ने गाउँमा जन्मिएको अभिव्यक्तिपछि उनको सर्बत्र आलोचना चुलिएको हो ।
भारतीय सत्तारूढ दल भाजपाले आस्थामाथि खेलबाड नगर्न ओलीलाई चेतावनी दिएको छ भने नेपालभित्रै पनि यसको सर्वत्र आलोचना भएको हो ।
भारतले नक्कली अयोध्या खडा गरी नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउँदै सीता भारत अयोध्याका रामलाई नभइ वीरगञ्ज पश्चिमस्थित ठोरियाका रामसँग विवाह भएको उल्लेख गरेपछि सामाजिक सञ्जाहरूमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं अभियान्ताहरूले आलोचना गरेका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ !’
राजसंस्था र हिन्दु धर्मलाई राजनीतिको आधार बनाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।’