काठमाडौँ: बाढीपहिरोले अवरूद्ध पृथ्वी राजमार्ग बिहीबारसम्म सञ्चालनमा आउन सकेको छैन।
सोमबार दिउँसोको बाढीपहिरोले मुग्लिनदेखि नौविसेसम्म साना ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेको थियो।
बाढीले धादिङ र चितवनको सीमामा रहेको मौवाखोला पुलको एकतर्फ करिब १५ मिटर सडक बगाएको थियो। पहिरो हटाउने काम सकिए पनि मौवाखोला पुल मर्मत सकिएको छैन।
शुक्रबार दिउँसोसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम सुरू गरिएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईञ्जिनियर कृष्णराज अधिकारीले मौवाखोलाको पानीलाई मूलधारमा पठाएर भत्किएको सडक मर्मत सुरू गरिएको जानकारी दिए।