काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर १४ औँ महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।
सुदूरपश्चिम कांग्रेसका नेता कार्यकर्तासँगको भर्चुअल कार्यक्रममा भाग लिँदै वरिष्ठ नेता पौडेलले फागुन ७ मै महाधिवेशन गर्नका लागि १३ औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर गर्न सकिने विकल्प अघि सारेका हुन्।
कांग्रेसको १४ औँ महाधिवेशन फागुन ७ गतेलाई तोकिएको छ। उनले फागुनमा महाधिवेशन नभए पार्टीमा सभापति शेरबहादुर देउवाको अराजकता बढ्ने पनि बताए।
‘फागुनमा महाधिवेशन गर्न १३ औँ महाधिवेशनकै प्रतिनिधिहरूलाई कायम राखौँ,’ पौडेलले भने, ‘यदि फागुनमा महाधिवेशन भएन भने पार्टीमा अराजकता बढ्छ। कसले कसलाई मान्ने को सभापति, को के, त्यसैले पार्टीको विधान र विधि बचाउन १३ औँ महाधिवेशनका प्रतिनिधि कायम राखौँ।’
पौडेलले सभापति देउवा महाधिवेशन समयमै नगराउने मनसायमा रहेको भन्दै विभाग गठन, क्रियाशील सदस्यता, नवीकरण गर्दा आफू बलियो हुने भन्ने दाउ मात्रै हेरेको बताए।
‘सभापतिज्यू फागुनमा कुनै हालतमा पनि महाधिवेशन गर्ने मनसायमा हुनुहुन्न। त्यसैले त अहिले विभाग गठन, क्रियाशील सदस्यता वितरण र नवीकरणमा बखेडा झिकिरहनु भएको छ,’ उनले भने, ‘उहाँ अहिले महाधिवेशन नगर्ने र आफू कसरी शक्तिशाली हुने दाउमा मात्रै हुनुहुन्छ।’