काठमाडौँ: नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ।
मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।
प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए।
उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो। मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिइसकेका छन्।
राजधानी र नामबारे छलफल सुरू भएलगत्तै कांग्रेसले प्रदेशसभामा नारावाजी गरेको थियो। कांग्रेसका तीन सांसदले कुर्सी, टेबुल र माइक पनि तोडफोड गरेका थिए।
प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए।
‘प्रदेशको राजधानी बुटवलमै यथावत राख्नुपर्छ। दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकिएको छ,’ उनले भने, ‘नाम लुम्बिनी ठीकै छ।’
प्रदेशको नाम लुम्बिनी राख्नेबारे कांग्रेसको समर्थन नै रहेको देखिएको छ।
प्रदेशसभामा ८७ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ। त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ।
नेकपाका ६१ सांसद छन्। ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ।
दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ।
प्रदेशसभामा कांग्रेसका १९ सांसद छन्। यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन्।