काठमाडौँ: वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने अनौपचारिक बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको छ।
सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६ बुँदामा असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए।
उक्त विषयमाथि छलफल गर्न देउवाले बैठक डाकेका हुन्।
पौडेल पक्षका नेताको आइतबार भएको भर्चुअल बैठकले पनि आफूहरूले यसअघि राखेका १६ बुँदाको समाधान खोजिनुपर्ने एजेन्डालाई प्राथमिकताका साथ उठाउने निष्कर्ष निकालेका छन्।
देउवाले महाधिवेशन प्रभावित पार्न विभागलगायतमा मनोनयन जारी राखेकोमा पौडेल पक्षका नेताले असन्तुष्टि राख्दै आएका छन्। ४७ विभागमध्ये देउवाले २० बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका थिए।
कांग्रेसमा अर्को विवादको विषय क्रियाशील सदस्यताको हो। देउवाले आफूखुसी क्रियाशील सदस्यता बाँडेको आरोप पौडेल पक्षको छ।