काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सत्ता साझेदारी सभापतिको एक्लैले निर्णयको विषय नभएको बताएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सत्ता साझेदारी प्रस्ताव गरेको विषयमा चर्चा भइरहेको बेला महामन्त्री कोइराला यस्तो प्रतिक्रिया दिएका हुन् ।
मंगलबार नवलपरासीमा प्रजातन्त्र सेनानी भूमिश्वर सापकोटाको शोकसभामा महामन्त्री कोइरालाले मुलुकका सरकार विहीन अवस्थामा आए सत्ता साझेदारीका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गरिने बताए ।
उनले भने, ‘अहिले नेपाली काँग्रेसलाई सत्तामा होइन प्रतिपक्षमा बस्न जनताले म्याण्डेट दिनुभएको छ । सरकार विहीन अवस्थामा मात्र नेपाली काँग्रेसले सत्ता साझेदारीका विषयमा केन्द्रीय समिति बैठकले निर्णय लिन्छ ।’
महामन्त्री पूर्णबहादुर खड्कासँग आफू काठमाडौं फर्केर कुरा गरि सहमतिको खाका तयार पार्ने समेत स्पष्ट पारे । उनले पार्टी केन्द्रीय समितिको बैठक चाँडै बसेर पार्टीमा देखिएका समस्या समाधान गर्ने पनि बताए ।
शोकसभामा सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसलाई पुनर्जागरणको आवश्यकता भएको औल्याए । जनतासँग काँग्रेसलाई जोड्ने पुनर्जागरण आवश्यक रहेको महतको भनाइ थियो । काँग्रेसले आफुले गरेका काम आफ्नो विचार जनतामा पुर्याउन नसकेकाले नेपाल कम्युनिष्टहरु सत्तामा पुगेको उनले बताए ।