काठमाडौं: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबारमा ब्रोकर कम्पनीले लगानीकर्ताहरुसँग लिँदै आएको कमिशन घटाएको छ । बोर्डले समग्रमा हालसम्म ब्रोकरले लिँदै आएको कमिशन दर ३३ प्रतिशतले कम बनाएको हो ।
हालसम्म सेयर किनबेच गर्दा लगानीकर्ता ब्रोकरले लगानीकर्ताहरुबाट ०.४० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिशन लिँदै आएको थिए । अब अधिकतम कमिशत यसमा ३३ प्रतिशतले घटेर ०.२६८ देखि ०.४०२ प्रतिशतमा झरेको छ ।
नयाँ व्यवस्थापछि अब न्यूनतम ०.२७ प्रतिशतदेखि बढीमा ०.४० प्रतिशतसम्म कमिशन लाग्ने व्यवस्था धितोपत्र बोर्डले लागु गरेको छ । अर्थात् ५० हजार रुपैयाँको सेयर किनबेच गर्दा पहिले ३०० रुपैयाँ कमिशन लाग्थ्यो भने अब २०० रुपैयाँ पर्नेछ ।
यस्तै, ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्ममा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र त्यसभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिशन लाग्नेछ ।
यद्यपि, यो अझैपनि लगानीकर्ताले माग गरेभन्दा महँगो नै रहेको छ । लगानीकर्ताहरुका विभिन्न छाता संगठनहरुले ब्रोकर कमिशन बढीमा ०.२५ प्रतिशतमा सीमित गर्नुपर्ने माग गर्दै आएका थिए ।
यस्तै, बोर्डले ऋणपत्र र सामूहिक लगानी कोषका योजनाहरुका साथै अन्य धितोपत्रको किनबेचमा दलालले लिँदै आएको कमिशन पनि घटाएको छ ।
सरकार, सरकारी निकाय, राष्ट्र बैंक वा अन्य जमानत प्राप्त संस्थाहरुले जारी गर्ने ऋणपत्रको हकमा दलाल कम्पनीले अब न्यूनतम ०.०२ प्रतिशतदेखि अधिकतम ०.१० प्रतिशतसम्म मात्र कारोबार कमिशन लिन पाउनेछन् । यस्तै, सामूहिक लगानी कोषका एकाइ तथा अन्य धितोपत्रको कारोबारमा दलाल कमिशन ०.१० देखि ०.१५ प्रतिशतसम्म कमिशन लिन पाउनेछन् ।
पछिल्लो समय धितोपत्र बजारमा सक्रिय लगानीकर्ताको संख्याका बढ्नुका साथै बजारको आकार पनि फराकिलो भएको र त्यससँगै ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाटै हुने भएकाले ब्रोकरको शुल्कलाई समसामयिक बनाउन यसमा पुनरावलोकन गरिएको बोर्डले जनाएको छ ।
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ (तेस्रो संशोधन) को नियम ३२ (१) बमोजिम धितोपत्र दलाल व्यवसायीले धितोपत्र कारोबार सेवा उपलब्ध गराएवापत ग्राहकबाट प्राप्त गर्ने शुल्कसम्बन्धी अनुसूची-१४ मा भएको विद्यमान व्यवस्थालाई संशोधन गरेको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
ब्रोकर कमिशनको संशोधित दर पुस १२ गते आइतबारबाट लागु हुने बोर्डले जनाएको छ ।
धितोपत्र कारोबार अनलाइन प्रणालीमा गएसँगै ब्रोकरहरुले गर्दै आएका कतिपय काम अहिले अभौतिकीकरण र कतिपय अनलाइनबाट स्वचालित रुपमा हुन थालिसकेको छ । यसले ब्रोकरको लगानीकर्ताका लागि दिँदै आएको सेवा सहज हुनुका साथै उनीहरुको अधिकांश काम घटिसकेकाले ब्रोकर कमिशन पनि घटाउनुपर्ने माग लगानीकर्ताहरुले राख्दै आएका थिए ।
पहिले लगानीकर्ताले खाता खोल्नेदेखि किनबेच अर्डरका लागि फारम भर्ने हुँदै भुक्तानी तिर्ने/बुझ्ने सबैका लागि ब्रोकरको कार्यालयसम्मै पुग्नुपर्ने हुन्थ्यो । अहिले यीमध्ये कुने पनि कामका लागि ब्रोकरकहाँ पुगिराख्नु पर्दैन । अर्थात् कारोबारदेखि भुक्तानीसम्मका अधिकांश प्रक्रियाहरु अहिले अनलाइन प्रणालीमा गइसकेको छ । यसैले ब्रोकरका प्रायः सेवा अहिले अनलाइनबाटै लिन सकिने भएकाले पनि लगानीकर्ताहरुले कमिशन घटाउन सेबोनलाई दबाव दिँदै आएका थिए ।
ब्रोकर तथा उनीहरुका साझा संस्थाले भने लगानीकर्ताका मात्र कुरा सुनेर एकपक्षीय रुपमा कमिशन नघटाउन भन्दै सेबोनलाई आग्रह गर्दै आएका थिए ।