काठमाडौं: नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक र कृषकबीचको सम्बन्ध अब अझ बलियो हुने बताए । कृषि विकास बैंकलाई सबैको घरआँगनकाे बैंक बनाइने उनले बताए ।
किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।
कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । यो एटीएम बुथमा भने चल्दैन ।
यो कार्डले सुरुआती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने कृषि विकास बैंकको विश्वास छ । बैंकले नगद भुक्तानी प्रदायकहरु गाउँस्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुनेछ ।
यससँगै आधुनिक प्रविधिमैत्री बन्न सफल भएको कृषि विकास बैंकको दाबी छ । यस कार्यले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने, स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिका साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणालीसमेत बलियो र भरपर्दो हुने बैंकको विश्वास छ ।