काठमाडौँ: नेकपाको प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब दुई शक्ति बाँकी रहेको बताएका छन्।
पहिलो, प्रधानमन्त्रीसँग साइबर सेना भनिने स्यालहरू र अर्को सेटिङमात्र बाँकी रहेको भुसालले बताए।
‘तपाईंलाई पराजित नगरीकन नहुने भएको छ। कमरेड ओलीलाई अहिले पनि लागेको छ- म विजय हुन्छु भन्ने। अब तपाईंसँग दुई वटा शक्ति मात्र बाँकी छन्। एउटा, साइबर सेना भनिने स्यालहरू बाँकी छन्। त्यसको नेतृत्व तपाईंले गरिरहनुभएको छ,’ भुसालले शुक्रबार राजधानीमा आयोजित विरोधसभामा भने।
ती साइबर स्यालहरूले जित्न वामपन्थको इतिहास, लोकतन्त्र पराजित हुनुपर्ने भन्दै उनले संविधानको कित्तामा उभिनका लागि आज मुलुकका सामु चुनौती खडा भएको बताए।
‘तपाईंसँग सेटिङवाला पार्टी छ। यो कुरा जोड गरेर भन्दैछु दुनियाँ भन्छन्, सबैले भन्छन्। गलत गर्नुभयो। संसद पुनर्स्थापित हुनुपर्छ भनिरहेका छन्। त्यसकारण ओलीले जित्नुहुन्न,’ उनले भने।
भुसालले यो अदालत २१ औं शताब्दीको अदालत भएकाले यहाँका न्यायाधीशहरू ओलीको सेटिङका पछाडि डराएर ओलीको पक्षमा निर्णय नगर्ने बताए।
‘कमरेड, तपाईंलाई धेरै टुक्काहरू थाहा छ। एउटा थाहा रहेनछ। स्यालहरूले रजाइँ गर्ने कुरा दन्त्यकथामा मात्र हुन्छ। वास्तविक दुनियाँ स्यालले रजाइँ गर्दैन। सेटिङले काम गर्दैन। दिमागमा याद होस्,’ भुसालले भने।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर नयाँ चुनाव गर्छु भन्नु भएको सन्तान मारेर नयाँ सन्तानका लागि व्रत बस्नुजस्तै भएको बताए।