काठमाडौँ: बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) को प्रथम वार्षिक साधारण सभाले १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।
फागुन २२ गते सम्पन्न भएको वार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको हो । उक्त निर्वाचन कार्यक्रम अधिवक्ता बालकृष्ण ढकालको संयोजनमा सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष गोल्यानले राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए । यसो हुन सकेको खण्डमा मात्र अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने उनको धारणा थियो ।
कार्यसमितिको आगामी दुई वर्षमा गरिने विषयहरुबारे जानकारी गराउँदै गोल्यानले सिबिफनलाई राष्ट्र कै अभिन्न अंगको रुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट्र निर्माणका लागि नयाँ सोच सहित अगाडि बढ्ने, देशमा हजारांै साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लाग्नुपर्नेमा जोड दिए ।