काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन्।
कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताएका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए। उनले भने ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउँछौंँ।’
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनस्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ थियो।
उनले भने, ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनर्स्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं।’
उनले अव बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए। तर, यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए। महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने बताए। ‘महाधिवेशन समयमै हुन्छ’, उनले भने, ‘कांग्रेसको महाधिवेशन भदौमै हुन्छ, गर्नैपर्छ, नगर्दाखेरी त हाम्रो पार्टीको अस्तित्व समाप्त हुन्छ।’
जनता समाजवादी पार्टी नेपालका माग पुरा गर्न कांग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताए। उनले भने ‘जनता समाजवादीका नेताहरुसँग हामी कुरा गर्छौं। उहाँहरुका माग पूरा गर्नलाई हामी प्रयास गर्छौं।’