काठमाडौँ: नेपाल उद्योग परिसंघ (सिएनआई) ले परिकल्पना गरेको स्वदेशी उद्योगलाई प्रोत्साहन र उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी’ अभियानमा सहभागिताका लागि आह्वान गरेको छ ।
वार्षिक एक हजार नयाँ उद्योग स्थापना गर्ने र डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरिएको यो अभियानको गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।
स्वदेशी उत्पादन देशको शान, यसको उपभोग गर्ने हाम्रो अभियान भन्ने नारा सहित सुरु गरेको यो अभियानमा सहभागिता जनाउनका लागि परिसंघले एक सूचना मार्फत आह्वान गरेको छ । यसमा सहभागितको लागि www.swadeshi.com.np लगइनगरी दर्ता गराउन सकिने परिसंघले जनाएको छ ।
परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने महत्वाकांक्षी लक्ष्यसहित ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको हो । अभियानले मुलुकभित्र हरेक वर्ष एक हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।संघले आफ्ना उत्पादनहरुमा स्वदेशी भावना सहितको लागो प्रयोग गरी स्वदेशी उत्पादनको पहिचान दिँदै समृद्ध नेपालको निमार्णमा आ आफ्नो क्षेत्रबाट योगदान पुर्याउन समेत आग्रह गरेको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसंगको सहकार्यमा सुरु गर्न लागिएको यो अभियानले औद्योगिकरण र रोजगारी सिर्जना मार्फत समुन्त नेपाल निमार्णका लागि स्वदेशी उत्पादनको वृद्धि गरी त्यसको उपभोग बढाउदै आत्मानिर्भर अर्थतन्त्रको आधार तय गर्ने लक्ष्य लिएको छ ।
हरेक वर्ष मुलुकमा एक हजार उद्योग सञ्चालन गर्ने र डेढ लाख रोजगारी सिर्जना गर्ने अभियानको लक्ष्य छ । यस्तै, कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने, पाँच वर्षमा मुलुकको वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने तथा आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
नेपालमा आयात हुने प्रमुख १० प्रतिस्थापन गर्न सकिने वस्तुहरूको आन्तरिक उत्पादन बढाएर पाँच वर्षभित्र आयात ४० प्रतिशतले घटाउने लक्ष्य छ । पूर्वाधारमा पुँजीगत खर्च बढाउने लक्ष्य पनि प्राथमिकतामा छ । यसका लागि हरेक वर्ष जिडिपीको २० प्रतिशत रकम पूर्वाधारमा खर्च गर्नुपर्ने हुन्छ । यस्तै, सेवा क्षेत्रको आधुनिकीकरणमा विशेष जोड दिइने भएको छ ।
यो अभियानमा पाँच वर्षभित्र कम्तीमा ८० प्रतिशत नेपाली उत्पादक कम्पनीलाई सहभागी गराउने र प्रत्येक वर्ष नेपाली वस्तुको खपत २५ प्रतिशतले बढाउँदै लैजाने पनि लक्ष्य लिइएको छ । स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्यसहित ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरिएको परिसंघले बताएको छ ।