काठमाडौँ: नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरूले धर्ना दिने तयारी गरेका छन्।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल गरेर सोमबार बेलुकी करिब १० बजे मात्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद हल गरिएको थियो।
पूर्वमहामन्त्री सिटौलाले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई क्रियाशीलबारेको प्रतिवेदन सोमबार बेलुकी नै हस्तान्तरण गरिसकेका छन्। अब क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद नरहेको दाबी उनीहरूको छ।
क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले करिब एक साता काम गरेका थिए। सहमतिमै उनीहरूले क्रियाशीलमा देखा परेका विवाद हल गरेका छन्।
तर क्रियाशील सदस्यको विवरण पार्टीले सार्वजनिक नगरेपछि जिल्ला सभापतिहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन लागेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिन लागेका हुन्।
एक जिल्ला सभापतिले सेतोपाटीलाई दिएको जानकारीअनुसार मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम छ। क्रियाशील सदस्यताको सूची पार्टीको वेवसाइटमा राख्नुपर्ने उनीहरूको माग छ।
‘क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्,’ ती जिल्ला सभापतिले भने।
जिल्लाबाट सिफारिस गरेर पठाइएकाभन्दा धेरैलाई क्रियाशील सदस्यता दिइएको हुन सक्ने भन्दै उनीहरूले विवरण सार्वजनिक गर्न नेतृत्वको ध्यानाकर्षण गराउन धर्ना दिन लागेका हुन्।