काठमाडौँ: नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भएको छ।
केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने हो। तर क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएकोले २१ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छैन।
५६ जिल्लामा भने क्रियाशीलको नामावली पार्टी वेबसाइटबाट सार्वजनिक गरिसकिएको छ। क्रियाशील नाम सार्वजनिक भएका र निर्वाचन अधिकृत पुगिसकेका जिल्लामा पनि भदौ १९, २०, २१ गतेका लागि अधिवेशन तोकिएका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरमा आज वडा अधिवेशन नहुने भएको छ। ललितपुरमा र भक्तपुरमा भदौ २१ मा वडा अधिवेशन हुनेछ भने काठमाडौंमा कहिले गर्ने टुंगिएको छैन। क्रियाशील सदस्यता विवाद नटुंगिएकोले काठमाडौं अधिवेशन अनिश्चित छ।
कांग्रेसले निर्वाचन अधिकृतसँग समन्वय गरी एक-दुई दिन वडा अधिवेशन सार्न सकिने अधिकार दिएको छ। भदौ २७ मा गाउँ/नगर अधिवेशन भएकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसमा छ।