काठमाडौँ:
भोली बुधबार बस्ने संसद बैठकलाई केन्द्रित गर्दै सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आ–आफ्नै संसदीय दलको बैठक मंगलबारका लागि बोलाएका छन् ।
नेपाली काँग्रेसले संसदीय दलको बैठक आज २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिइन् । उनले दलको बैठकमार्फत संसदमा पार्टीका सांसदहरुले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताए ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बुधबार बिहान दलको बैठक बसेर संसदमा पार्टीका तर्फबाट उठाउने एजेण्डाका बारेमा छलफल हुने बताए ।
‘बुधबार बिहान बैठक बोलाइएको छ । त्यहीँ बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्ने तय गरिन्छ’, भट्टराईले रातोपाटीसँग भने । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि संसद बैठक अघि दलको बैठक बोलाउने तयारी गरेको नेता देव गुरुङले जानकारी दिए ।
‘समय निर्धारण भैसकेको छैन, तर संसद बैठक अघि दलको बैठक बस्छ’, गुरुङको भनाइ छ ।
संघीय संसदका दुवै सदनको बैठक बुधबार अपरान्ह चार बजेका लागि बोलाइएको छ । सत्तापक्ष र प्रतिपक्ष बीचको सम्बन्धमा चिसोपना आइरहेका बेला बस्न लागेको बैठकमा सरकारले बजेट परिमार्जन गर्ने अध्यादेश लैजाँदैछ । संसद बैठकमा प्रमुख प्रतिपक्ष एमाले कडा ढंगले प्रस्तुत हुने तयारी गरेकाले सत्तापक्ष त्यसका कसरी सामना गर्ने भन्ने रणनीतिमा लागेको छ ।
प्रमुख प्रतिपक्ष एमालेले बजेट अध्यादेश, महाकाली तुइन प्रकरण, सभामुखको भुमिका, हिल्सा सीमा प्रकरण लगायतका विषयमा शसक्त आवाज उठाउने तयारी गरेको छ ।