पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे मंगलबार एउटै मञ्चमा देखिए ।
पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा पाण्डेले सम्बोधन गरिरहेका बेला ओली पुगेका थिए । पछिल्लो समय पार्टीमा देखिएको अन्तरसंघर्षबारे तात्तातो समीक्षा गर्न नहुने बताएका पाण्डेले ओली मञ्चमा आएपछि १० बुँदे सहमतिलाई फेरि दोहोर्याए ।
माधव नेपालले अघि सारेको ६ बुँदे प्रस्तावकै मर्मअनुसार सहमति भएको भन्दै उनले भने, ‘१० बुँदामा कायम भएपछि पार्टी एकता किन नगर्ने ? यो कुरा हामीले माधवजीलाई पटक पटक भन्यौं ।’
तर माधवकुमार नेपालले बाउँठिएर एमाले फुटाउने र नयाँ पार्टी दर्ता गर्ने काममा लागेको उनले बताए ।
पाण्डेपछि अध्यक्ष ओलीले सम्बोधन गरे । माधव नेपालको चर्को आलोचना गरेका उनले साबिकको नेकपा र पुनस्र्थापित एमालेमा देखिएकाको समीक्षा समेत गरेका छन् ।
हरिया साँप
साबिकको नेकपा पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि सरकार ढाल्ने र एमालेलाई चारैतिर पासो थाप्ने कामको अगुवाइ माधव नेपालले गरेको ओलीको आरोप छ ।
वैशाख २७ मा आफूले संसदमा विश्वासको मत माग्दा माधव नेपाल २७ सांसद लिएर बाहिर गएको र सरकार ढालेको उनले बताए । त्यसपछि पनि आफूलाई सरकारबाट हटाउन र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिकहाँ र सर्वोच्च अदालत जानु अराजकता र पार्टीविरोधी काम भएको उनले बताए ।
देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री दाबी गर्दा समर्थन गर्ने २६ तथा संसद पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै सर्वोच्च अदालत जाने माधव नेपाल समूहका २३ सांसदमा सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरु पनि थिए । लामो समय माधव नेपाल निकट रहेका उनीहरु १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमतिका आधारमा एमालेकै क्रियाशील भएका छन् ।
तर एमाले अध्यक्ष ओलीले भने उनीहरुलाई हरियो सापको संज्ञा दिएका छन् । उनले अघि भने ‘हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो । त्यसकारण आज हामी सरकार छैनौं, प्रतिपक्षमा छौं ।’