काठमाडौँ:
राष्ट्रिय जनगणना २०७८ अन्तरगत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरणको काम शुरु भएको छ । यो काम असोज १८ सम्म २० दिन सञ्चालन हुनेछ । यस अवधिमा करिब ७० लाख घरपरिवारको विवरण संकलन गर्न ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् ।
तथ्यांक विभागका निर्देशक ढुण्डीराज नागहरेका अनुसार जनगणनाको स्थलगत सर्वेक्षणका दुई चरणमध्ये घर तथा घरपरिवार सूचीकरण पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा करिव ४० हजार गणकहरुले कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन घरघरमा पुगेर तथ्यांक संकलन गर्नेछन् ।
केन्द्रीय तथ्यांक विभागले सुपरीवेक्षकलाई ६ वटा जिम्मेवारी तोकेको छ । उनीहरुले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने, मोवाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली फर्म भर्ने र गणकको अनुगमन गर्नेछन् । सुपरभाइजरले सूचीकरण गरेका घरपरिवारमा दोस्रो चरणमा गणकहरु गएर तथ्यांक संकलन गर्ने नागहरेले बताए ।