काठमाडौँ:
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री आचार्यले दुई मन्त्री र ३ जनालाई राज्यमन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । तर राज्यमन्त्री बन्न आचार्यले गरेको आग्रहलाई तीन सांसदले अस्वीकार गरेका छन् । एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी र उदयपुरका सांसद बिमल कार्कीले राज्यमन्त्री पद अस्वीकार गरेका छन् ।
त्यसैगरी राजकुमार ओझाले पनि राज्यमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। शेरधन राई नेतृत्वको अघिल्लो सरकारमा ओझा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेका थिए ।
उदयपुरका सांसद विमल कार्कीले मुख्यमन्त्रीले आफूलाई राज्यमन्त्री बन्न प्रस्ताव गरेपनि आफूले अस्वीकार गरेको बताए । कार्की निकट सांसदहरूका अनुसार उनले फुलमन्त्री बन्न चाहना राखेपनि राज्यमन्त्रीका लागि मात्र अफर आएपछि पदनै अस्वीकार गरेका हुन् ।
त्यसैगरि राजभण्डारी छोटो अवधिको लागि मन्त्री बन्ने चाहना नभएको बताए ।
तीन जनाले पद अस्वीकार गरेपनि मुख्यमन्त्री आचार्यले संखुवासभाका तुलसी न्यौपाने र झापाका हिराकुमार थापा मन्त्री बन्ने बनाउने पक्कापक्की भएको छ ।
साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने सपथमा तीन राज्यमन्त्रीलाई पनि मुख्यमन्त्री आचार्यले शपथ गराउने तयारी गरेको बुझिएको छ । तर उनीहरुको नाम अहिलेसम्म सार्बजनिक गरिएको छैन ।
स्रोतका अनुसार सोलुखुम्बुका उत्तमकुमार बस्नेत र मोरङका ज्ञानेश्वर राजवंशीलाई राज्यमन्त्री बनाउने तयारी भएको छ भने एक जनाको नामबारे भने छलफल भइरहेको बताइएको छ ।