काठमाडौं । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको हो ।
यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अगि्रम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।
भोलि (शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपछि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारे । महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।
‘नेपालभर वर्षाको कारणले सडकहरु बिग्रिएका छन्, अहिले पनि दुई दिन जति गाडी आउन-जान समय लागिरहेको छ, नारायणगढदेखि सुनौलीसम्मको बाटो त अस्तव्यस्त नै छ, ग्रामीण सडकहरु बिग्रिएका छौँ,’ महासचिव सिटौलाले भने ।