काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताउनु भएको छ । गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूसमेत सदस्य रहेको कार्यदल बनाएर खोल्दा पर्ने सकारात्मक र नकारात्मक असरबारे बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने गृहमन्त्री खाणले बताउनु भयो ।
उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँग मन्त्रालयमा भएको बैठकमा मन्त्री खाणले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रीकालिन व्यवसायलाई सम्मानित बनाउन पर्ने बताउनु भयो । ‘व्यवसायको सम्मान राष्ट्रको सम्मान हो । रात्रीकालिन व्यवसायलाई सम्मानित बनाउँ,’ मन्त्री खाणले भन्नुभयो, ‘सरकार पर्यटन व्यवसायमैत्री छ । हामीले तपाईहरूलाई स्वतन्त्र रूपमा व्यवसाय चलाउन दिने पक्षमा छौं । तर नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो । त्यसमा व्यवसायी र सरकार गम्भीर बन्नुपर्छ ।’
उहाँले पर्यटन व्यवसायीले भोगेको पिडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीको पिडामा सरकार संवेदनशील रहेको बताउनु भयो । कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले आफू पर्यटन व्यवसायीको पक्षमा रहेको भन्दै कसरी पूर्णरूपमा पर्यटन व्यवसायलाई पहिलाको जस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने बताउनु भयो । ‘म व्यक्तिगत रूपमा पर्यटन व्यवसायीको पक्षमा छु,’ मन्त्री खाणले भन्नुभयो, ‘तर मैले भनेर मात्रै भएन । कसरी ‘फुलफेज’मा पर्यटन व्यवसाय चलाउन सकिन्छ त्यो प्रशासनले विश्लेषण गरेर अगाडि बढ्ने तयारीमा हामी छौं । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय चलाउनु भयो र सरकारका नीति नियम पालना गर्नुभयो भने सरकार तपाईहरूको पक्षमा छ ।’
बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताउनु भयो । जनजीवनलाई सामान्यीकरण गर्न सरकार तयार रहेको भन्दै उहाँले त्यसमा व्यवसायीले निर्धारित मापदण्ड प्रयोग गरेर सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले पर्यटन व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता अपनाउन पनि आग्रह गर्नुभयो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अहिलेसम्म पर्यटन व्यवसाय खुल्दा स्वास्थ्यको मापदण्ड पालनामा समस्या देखिएको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसाय, पर्यटक र शान्ति सुरक्षालाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताउनु भयो ।
बैठकमा दोहोरी व्यवसायी संघका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डंगोल, व्यवसायी मिलन कार्की, रात्रीकालिन व्यवसायी संघका दिनेश श्रेष्ठ, डान्सबार संघका राजकुमार लामाले व्यवसाय बन्द हुँदा आफूहरूले झेल्नु परेका समस्याबारे अवगत गराउनु भएको थियो । उहाँहरूले आफूहरू सरकारले बनाएको नीति नियम र स्वास्थ्य मापदण्ड पालना गर्न तयार रहेको भन्दै २४ घण्टा व्यवसाय गर्न वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो ।